शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् ।
सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा छ ।
साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ । विशेष गरी साउने सोमबारका दिन महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । साथै सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमान्को दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****