लमजुङ बाढी अपडेट : १८ घर बगायो

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका ८ हिले बजारमा बाढीले क्षति पुर्‍याएकाे छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले हिले बजारकाे एक सामुदायिक भवनसहित १५ घर र हिमालयन पावर पार्टनर जलविद्युत् आयोजनाको ड्याम साइट नजिकै रहेका तीन घर पनि बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।‘एक सामुदायिक भवनसहित यस क्षेत्रका १८ घरधुरीमा बाढीले क्षति पुर्‍याएकाे छ’, उहाँले भन्नुभयो, ‘वर्षासँगै आएको बाढीले दोर्दी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएकाे जानकारी आएको छ ।’

गाउँपालिकाका अनुसार दोर्दी करिडोरमा हिमालयन पावर पार्टनर, दोर्दी १ जलविद्युत् आयोजना, लिवर्टी इनर्जी कम्पनी लिमिटेड र सुपर दोर्दी जलविद्युत् आयोजना रहेका छन् ।

हिले बजारका विस्थापितसँगै अन्य ५० घरधुरीका बासिन्दा फलेनी माविको भवनमा बसेका गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हिले बजारकै ४३ घरधुरी बाढीको उच्च जोखिममा रहेका छन् । हिले बजारमा एक सय १४ घरधुरी रहेका छन् ।गाउँपालिकाले तत्कालका लागि उपलब्ध १७ थान त्रिपाल वडामार्फत त्यस क्षेत्रमा वितरण गरिसकेको सूचना अधिकारी गुरुङले बताउनुभयो ।

विस्थापित र जोखिममा रहेकाहरूका लागि जिल्ला विपद् व्यवस्थापन समिति, आरसीडीसी र नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखा लगायतका सङ्घ–संस्थाले राहतका सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।‘विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाबाट विस्थापित र जोखिममा रहेका घरधुरीका लागि राहत सामग्री उपलब्ध भएको छ । उपलब्ध सामग्री वितरण गरिनेछ’, उहाँले भन्नुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment