काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता बचाउने हो भने आफूलाई संसदीय दलको नेता बनाउनु पर्ने माग राखेका छन् । एमाले एकताका लागि अन्तिम प्रयास भइरहेका बेला नेता नेपालले संसदीय दलको नेता मागेका हुन् ।
‘माधवकुमार नेपालले अहिले पार्टी एकता गर्ने हो भने आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग राख्नु भएको छ,’ स्रोतले भन्यो ।
संसदीय दलको नेतामा स्वीकारे अन्य कुरामा कन्सिडर गरेर अघि बढ्न सकिने अन्यथा एमालेबाट अलग हुने जवाफ माधव पक्षले ओली पक्षलाई दिएको छ ।
एमालेमा हाल केपी शर्मा ओली संसदीय दलका नेता छन् । यसबारे एमालेको दुवै पक्षबीच छलफल हुन भने बाँकी छ । ओली एकताका निम्ति केही लचक भए पनि माधव नेपाललाई संसदीय दलको नेता नै बनाउन तयार हुने अवस्था भने निकै कम छ ।
एमाले एकताका लागि अहिले दोस्रो तहका नेताहरू लागिपरेका छन् । यद्यपि, अहिलेसम्म ठोस आधार भने निर्माण भइसकेको छैन ।
अध्यादेशबाट अलग दल बनाउने दाउ
ओलीले संसदीय दलको नेता त्याग्नुपर्ने मागलाई बटमलाइन बनाएको माधव नेपाल पक्षले यसका लागि तयार नभएमा अलग दल खोल्ने मनस्थिति बनाएको छ । तर अहिलेकै अवस्थामा अर्को दल खोल्न माधव नेपाल समूहलाई प्राविधिक जटिलता छ ।
किनभने, राजनीतिक दलसम्बन्धी कानूनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ । संसदीय दलमा नेपाल पक्ष ४० प्रतिशत हाराहारीमा भए पनि संसदीय दलमा उपस्थिति निम्छरो छ ।
यो अवस्थामा दल विभाजन गर्न नसकिने भएकाले कानून संशोधनको दाउमा नेपाल पक्ष छ । स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा पनि आफूलाई प्रधानमन्त्री बनाएको गुन पार्टी विभाजनमा सजिलो हुने गरी कानून संशोधन गराएर तिरिदिने मनस्थितिमा छन् ।
तर यसका लागि संसदको बाटो जटिल र झन्झटिलो छ । त्यसैले बजेट अधिवेशन अन्त्य लगत्तै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेपाल पक्षको अप्ठ्यारोमा सहजीकरण गरिदिने दाउमा देउवा छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि दल विभाजनको विद्यमान कानून परिमार्जन गर्दै अध्यादेश ल्याएको थियो । तर त्यसको चर्को विरोध भएपछि फिर्ता भयो । हिजो ओलीले अध्यादेश ल्याउँदा विरोध गर्नेहरू नै अहिले त्यही प्रयासमा लागिरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****