सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो ।
अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।
अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खननबाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ ।
फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ ।
कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।
प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो ।