गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खस्यो, त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन छोरी जेनिसाको केही समय अगाडि पत्थरीको अप्रेसन गरिएको थियो । तर अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएर थप उपचार गर्नुपर्ने भयो । त्यसका लागि घर परिवारमा सल्लाह गरेर काठमाडौं जाने निधो गर्यौं । हिजो साँझ लु.१ च. ९७३१ नम्बरको जिपमा म, छोरी जेनिसा र श्रीमती जमुना काठमाडौंका लागि हिँड्यौँ । जिप चालक सूर्य केसी थिए ।यात्रा राम्रैसँग चलेको थियो । बिहानीपख निद्राले अलि झकाएको थिएँ । एक्कासी छोरी र श्रीमती चिच्याए । आँखा खोल्दा गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खस्यो र त्रिशुलीमा पुग्यो।
बग्दै गरेको गाडीको झ्याल ढोका खोल्ने प्रयास गरेँ । मैले अलिकति पानी पनि पिइसकेको थिएँ । अब सक्कियो भन्ने लागेको थियो । केही तल पुगेपछि संयोगले ढोका वा झ्याल के खुल्यो । म बाहिर निस्किएँ । तर, ड्राइभर, श्रीमती र छोरीलाई निकाल्न सकिन ।पौडी खेलेर नदी पार गरेँ । मैले गुहार माग्न चिच्याए । तर कसैले सुनेन । मुस्किलले राजमार्गमा आएँ । काठमाडौंबाट आउँदै गरेको ट्रकलाई रोकेर घटनाबारे बताएँ । ट्रक ड्राइभरले प्रहरीलाई खबर गरे। मुग्लिनबाट प्रहरी टोली तुरुन्तै घटनास्थल पुग्यो ।त्यतिबेलासम्म मैले आफ्नो भिजेको लुगा खोलेर ट्रक ड्राभइभरको लुगा लगाएको थिएँ । प्रहरीले मलाई गाडीमा हालेर भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका लागि ल्यायो।
अहिले मेरो उपचार भइरहेको छ । अवस्था सामान्य नै छ । अलि टाउको, घाँटी र छाती दुखेको छ । नदीको पानी पिएका कारण वान्ता पनि भयो । शायद पानी वान्ता गरेकाले छाती दुखेको होला । छातीमा सामान्य चोट देखिएको छ । मैले जति प्रयास गर्दा पनि श्रीमती र छोरीलाई बाहिर निकाल्न सकिन । उनीहरुको अबस्था के छ थाह छैन । घर परिवारलाई फोन गरेर नआत्तिन भनेको छु ।(घाइते रोकासँग सुमन आचार्यले गरेको कुराकानीमा आधारित । उहाँसँग कुरा हुँदै गर्दा त्रिशुलीमा जिप भेटिएको र श्रीमती तथा चालकको शव निकालिएको समाचार आइसकेको छ । छोरीको खोजी जारी छ ।)