काम गर्न नसकेको भन्दै सुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारी

सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्न क्याबिनेटमा प्रस्ताव लैजाने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)को बैठकले सुर्खेत प्रादेशिक अस्पताल संघअन्तर्गत बनाउने निर्णयका लागि क्याबिनेट प्रस्ताव लैजाने निर्णय गरेको हो । केही दिनअघि सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले अक्सिजनको कमी भएको भन्दैं नयाँ बिरामी भर्ना नलिने सार्वजनिक सूचना जारी गरेका थिए ।

उक्त सूचनाको चौतर्फी आलोचना भएको थियो । मन्त्रालयका अधिकारीहरुकाअनुसार अहिलेको कोभिड–१९ संक्रमण र रोकथाममा प्रदेश अस्पतालले मन्त्रालयसँग समन्वय पनि गरेको छैन । यस्तै, आईसीएस बैठकले अस्पतालहरुले बिरामीलाई अक्सिजन लिएर आउने भएमात्रै उपचार गर्ने कबुलियतनामा गराउने गरेको जानकारी आएको भन्दै त्यस्ता नगर्न र गरेको पाइएकोमा नियमानुसार कारवाही गर्ने सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरेको छ ।

कोभिड १९ को पहिलो महामारीमा कर्णाली प्रदेशमा राम्रो काम भएर प्रसंसा भएको थियो । अहिले प्रदेशको सत्ता समिकरणा बदलीएसंगै अस्पताल व्यवस्थापनमा समस्या सृजना भएको हो ।

+