काठमाडौँ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले संसद् पुनः स्थापना भयो भने तत्काल राष्ट्रपतिलाई महाभियोग नलगाउने हो भने ठुलो सङ्कट आउने बताएका छन् ।
सोमबार विपक्षी ५ दलले विभिन्न पेसागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै उनले सरकारको कदमको प्रतिरक्षा गर्न अदालतमा आएको जवाफमा सरकार बनाउने अधिकार राष्ट्रपतिमा रहेको दाबी गरिएकोले सचेत रहन विपक्षी गठबन्धनलाई आग्रह गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आएकोले विपक्षी गठबन्धनको भविष्य र मार्गचित्र के छ स्पष्ट पार्न आग्रह गरे । उनले यदि भोलि शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा विश्वासको मत लिनुपर्ने अवस्थामा माधव नेपाल पक्षका सांसदले के गर्छन् भन्दै प्रश्न गरे ।
भोलि भागबन्डा नमिलेपछि छुट्टिने त हैन ? – अधिवक्ता सबिता भण्डारीले विपक्षी ५ दलको गठबन्धनलाई भोलि भागबन्डा नमिलेपछि छुट्टिने त हैन भन्दै प्रश्न गरेकी छिन् । सोमबार विपक्षी ५ दलले विभिन्न पेसागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै उनले विपक्षी दलहरूले विगतका गल्तीबाट शिक्षा लिन आग्रह गरिन् । भागबन्डा मिल्दा सँगै हुने र नमिल्दा बाटो लाग्ने नगर्न आग्रह गरिन् । उनले अहिले सरकारले संविधान मार्न खोजेको भन्दै बचाउन विपक्षी दललाई आग्रह गरिन् ।
सत्तामा नभएको बेला हामी चाहिने, अरूबेला किन नचाहिने ? – वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दललाई आफु सत्तामा नभएको बेला बुद्धिजीवीहरू चाहिने बताएका छन् । सोमबार विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै थापाले सत्तामा रहुञ्जेल बुद्धिजीवी नचाहिने र सत्ताबाहिर पुगेपछि चाहिने भन्दै ब्यङ्ग्य गरे ।
उनले विपक्षी दलका नेताहरूलाई आज सरकारले गरेको संवैधानिक नियुक्ति जस्तै तपाईले पनि भोलि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ? भन्दै प्रश्न गरे । उनले सबै दल मिलेर समाजवाद ल्याउने भनेर संविधानमै लेखेको तर समाजवाद ल्याउने कुनै काम नगरेको बताए । उनले त्यसका लागि विद्येयक ल्याउनुभयो ? त्यत्रो जनयुद्ध गर्नुभयो तर त्यसका लागि न्युनतम कुरा के ल्याउनुभयो भन्दै प्रश्न गरे ।
अहिले अदालतमा सेटिङको कुरा आएको भन्दै उनले भने, ‘मुद्दा हेर्ने न्यायाधीश छान्दा धेरै देशमा पैसा खाएर वाक्क दिक्क पारेपछि अटोमेशन सिस्टम ल्याएको छ । नेपालमा केही न्यायाधीशले त्यसको अभ्यास गर्न खोजेपनि अहिले त्यसलाई रोकिएको छ ।’
अधिवक्ता थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारले गरेको संवैधानिक नियुक्तिमा कति भाग पाएको छ भन्दै प्रश्न गरे । देउवाले त्यसको प्रष्ट जवाफ दिन आग्रह गरे । राष्ट्रपति खोपीको देउताको रूपमा रहेको भन्दै उनलाई थप अधिकार दिने प्रपञ्च नगर्न उनले समेत आग्रह गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****